• २०८३ भाद्र २ गते मङ्गलवार

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, मकवानपुर। मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।

तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

घटनाको मुख्य योजनाकार निश्चल रहेको उनले बताए । प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ । आरोपितहरुले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागुऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले तीनैजनाको साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र ५० हजार बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस