आज वि.सं. २०८० श्रावण २४ गते बुधवार तदनुसार ई. सं. २०२३ अगस्ट ०९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, चन्द्रास्त : दिउँसो १२:२८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:१० बजे, श्रावण कृष्णपक्ष (अनलागा) अष्टमी तिथि, बिहान ०८:२६ बजेसम्म, त्यसपछि नवमी तिथि, भरिणी नक्षत्र, बिहान ०६:५२ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, दिउँसो १२:५४ बजेसम्म, त्यसपछि बृष राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । बोलीमा सामर्थ्य भएको दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
काममा सहयोगी, नोकरचाकर वा अनुयायीको सहयोग लिन सकिने समय छ । घरखाँचो टार्न व्यवस्थापन गर्ने दिन हो, केही खर्चबर्च जुटाउनुपर्ने हुन्छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
ज्ञानको भण्डार पूणर् हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निणर्य तपाईंको सुखद अनुभवको कारक बन्नेछ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । चित्रकला, साहित्य, सञ्चारमाध्यम, रङ्गमञ्च, नाटक आदि क्षेत्रमा आकर्षण र लगनशीलता बढ्ने दिन हो ।