• २०८३ कार्तिक २२ गते शनिवार

समृद्ध कर्णालीमा युवा भुमिका

जिवन शाही पढ्न लाग्ने समय : ४ मिनेट

अहिले नेपाली समाजलाइ हेर्ने हो भने प्रस्ट रुपमा भ्रस्ट प्रणाली र त्यसैको प्रतिक्रिया स्वरुपको सामाजिक अराजकता, बैदेशिक शक्तिद्वारा प्रायोजित राजनीति , भ्रस्ट कर्मचारीतन्त्र ,दलाल पुजिबाद्को चंगुलमा निजि क्षेत्र रहेको छ। राज्य चरम आर्थिक संकटबाट गुज्रिरहेको यो अवस्थामा महिनौदेखि कर्मचारीले तलव खान पाइरहेका छैनन् भन्ने कुरा विभिन्न संचार माध्यामबाट सुन्नमा आएको छ र आगामी दिनमा सामाजिक सुरक्षा भत्तासम्मको कटौती गर्ने सरकारको तयारि रहेको बुझिन्छ ।

देश चरम आर्थिक संकटमा आउनुका कारण भने हरेक क्षेत्रमा भएको चरम भ्रस्टाचार र अनियमितता नै मूल हुन् । स्वदेशी उत्पादन करिव करिव सुन्यको स्थितिमा रहनु, दिनानुदिन आयात बढ्नाले पनि आर्थिक संकट भएको देखिन्छ राज्यले निर्यात गर्ने बस्तुहरुको पनि नियमन अनुगमन नहुदा केहि सानो बिचौलियाको समूह बाहेक राज्य जनता र उत्पादक सबैले घाटा बेहोरिरहेको अवस्था छ । देशमा लामो समयदेखिको राजनैतिक अस्थिरता नै यसको प्रमुख कारण हो । राजनैतिक अस्थिरताका कारण अनेकौ छन् अहिले त्यतातिर नगई बिषयबस्तु तिर प्रस्थान गर्न चाहन्छु।

सुन फल्ने तमाम सम्भावना छदाँछदैं नुन पनि मुस्किलले पाउने हाम्रो कर्णाली र कर्णालीबासि तर्फ जाउ तमाम बैदेशिक संघ सस्था र रास्ट्रहरुले कर्णालीको रोग भोक र सोक मेटाउने कर्णालीका सम्भावना लाइ उजागर गर्ने, त्यहाका जनाताको जीवनस्तर उकास्ने उद्देश्यका साथ लगानी गरेको अरवौको रकम केहि टाठा बाठाहरुको मात्र जीवनस्तर उठ्यो र रह्यो । कर्णाली उस्ताको उस्तै बरु त्यो संघ सस्थाले नामका लागि मात्र चलाइएका बिभिन्न कार्यक्रमले आफ्नै बेगमा बगिरहेको कर्णालीलाई अनउत्पादक, अल्छि र परनिर्भर भने केहि हदसम्म बनाएर गयो भन्ने आम जनामासको बुझाइ छ।

कर्णालीको विकास र सम्बृद्धिका लागि सबैभन्दा पहिला यहाको सामाजिक चेतना स्तर उठ्न आवस्यक हुन्छ । अहिलेपनि कर्णालीमा शिक्षाको स्तर एकदमै न्युन अवस्थामा छ । सामुदायिक बिद्यालयको अवस्था एकादमी नाजुक छ । स्वास्थ्ग्यको स्थिति हेर्दा एकदमै दयनीय अवस्थामा छ । सामान्य रोगको समेत उपचार गर्न नसकिने कर्णालीका ग्रामिण बस्तिहरुमा राज्यको नजर नपुगेको हो कि पुगेर पनि नजरन्दाज गरिएको त्यो बुझ्न गाह्रो छ । भौतिक पूर्वाधारको कुरा गर्दा कर्णाली राजमार्ग हैनकी मृत्युमार्ग भन्ने कथन प्रचलित हुदैछ ।

ग्रामिण बस्तिहरु एकाएक खालि हुदैछन, ग्रामिण भेगकै केन्द्र तिर केन्द्रित छन् । जसले गर्दा गाउका खेतबारीहरु बाझै रहने, घर खालिरहदा पशु चौपायाको उत्पादनमा कमि आइरहेको छ । रोजगारीको कमीले गाउघर छोडी बिदेशिनु पर्ने बाध्यता छ। केहि मात्रामा विदेश गए पनि कर्णालीबासिका लागि पुस्तेनी रोजगारीको थलो भारतिय बजार रहेको छ । जुन सस्तो मुल्यमा पुस्तौपुस्तादेखि रगत पसिनासंगै आफ्नो स्वाभिमान बेच्न बाध्य छन् । बाजेहरु चौकीदारी जाने परिवारका अहिले बाउ पुस्ताहुदै नाति पुस्तासम्म त्यहि परम्परा चलिआइरहेको तितो यथार्थ छ । कर्णलीमै भैरहेका तमाम सम्भावनाको राज्यले सदुपयोग गर्दैन । राज्यले हामीसंग भएको श्रोतको प्रयोग र परिचालन गर्न नसक्दा यो अवस्था आइपुगेको देखिन्छ। बारी बाझा राखी आयात गर्दै जीवन निर्बाह गर्नका लागि विदेशिनुको विकल्प रहदैन ।जब हामीसंग उत्पादन छैन भने हामिसंग बाकि रहन्छ त्यहि एकमात्र श्रम जुन श्रम पनि हामिले सस्तो मुल्यामा बिदेशमा बेच्नु पर्नुको पछाडिको कारण आफ्नो देशको कमजोर शासन प्रणाली नै हो।

अहिले कर्णालीको अवस्था यस्तो अवस्थामा छ कि मलाई लाग्छ अपर कर्णालीका सदरमुकामका हरेक घरका हरेक भान्सामा अहिले पनि ग्यास चुलोमा भारतीय तरकारी पाक्छ । हाम्रो जङ्गलमा काठ कुहिएर जान्छ । हामि यति परनिर्भर भैसकेको अवस्था छ कि यदि भारतले नाकाबन्दी गरेको खण्डमा भोकमारीलाई धान्न नसक्कने अवस्थामा छौ । अहिले त नुनदेखि सुनसम्म कर्णालीले पनि आयात गरिरहेको अवस्था छ । अहिले हेर्दै जाने हो भने ग्रामिण बस्तीमा बारीहरु सबै बाझै छन् । ग्रामिण बजारहरु भरिदैछन । समाजमा परनिर्भर संस्कार एकदमै हावी भैरहेको छ । परिवारको एक सदस्य बिदेशमा मजदुरी गर्ने बाँकी एक ठाउमा बसेर अनुत्पादक बनेर जीवन चलाउने परिपाटीको बिकास भएको देखिन्छ । कर्णालीमा भएका तमाम सम्भावनाको खोजि राज्यले गर्नुपर्ने हुन्छ र त्यसमा अब युवापुस्ताले प्रमुख भूमिका खेल्न सक्नुपर्दछ ।

पर्यटकीय प्रचुर सम्भावना बोकेको कर्णालीलार्इ पर्यटनका माध्यामबाट सम्वृद्धिको बाटोमा अगाडी बढाउन सक्नु पर्दछ । यसका लागि आवस्यक भौतिक पूर्वाधार सडकको स्तरउन्नति, निरन्तर र सर्वसुलभ हवाई यात्रा लगायत आवस्यक अन्य कुराहरुमा राज्यले ध्यान पुर्याउन जरुरि देखिन्छ । हामीसंग हाम्रो बन जंगलमा कुहिएर गएका बहुमुल्य जडिबुटीको प्रसोधन गरि त्यसको बजारीकरण गरिनुपर्छ र यसका लागि राज्यको ध्यानाकर्षण गराई नीतिगत रुपमा यसको वकालत युवाहरुले गर्नु पर्छ । जसबाट जडिबुटी प्रसोधन र त्यसका लागि साना तथा मझौला उद्योग संचालन गर्न राज्यले सवै प्रकारका बन्दोबस्त युवाहरुलाई गरिदिनुपर्छ ।

तसर्थ समग्र कर्णालीबासी युवा साथीहरुहो सङ्गठित रुपले समृद्ध कर्णाली निर्माणको अभियानमा एकिकृत भै विशेषगरि कर्णालीको उत्पादन अभिबृद्धी र त्यसको उचित बजारिकरण, पर्यटन बिकास र अन्य सम्भावित क्षेत्रमा लगानी गरि विदेशिरहेको युवा शक्तिलाइ कर्णालीमै रोक्ने र अझ बढी उत्पादन र कर्णाली समृद्धिको अभियानमा जोड्दै परिणाम मुखी अभियानमा आ आफ्नो क्षेत्रबाट योगदानका लागि तयार रहन समग्र कर्णालीबासी युवाहरुमा आव्हान गर्दछु ।

Sharing

प्रतिक्रिया दिनुहोस