जेठ २५, काठमाडौं । गौर हत्याकाण्ड विरुद्धको निवेदनमा आज(बिहीवार) पेशी तोकिएको छ । सर्बोच्च अदालतका न्यायधिश प्रकाशमान सिंहको इजलासमा पेशी तोकिएको हो । गौर हत्या अनुसन्धान गर्न पीडितले २१ जेठमा सर्बोच्चमा रिट निवेदन दर्ता गराएका थिए । निवेदनको पेशी २२ जेठमा सर्बोच्चका न्यायधिश कुमार रेग्मीको इजलासमा तोकिएको थियो । तर, उक्त दिन सुनुवाई हुन सकेन ।

७ चैत ०६३ मा रौतहटको सदरमुकाम गौरस्थित रंगेलीमा तत्कालिन माओवादी र जनअधिकार फोरमका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा माओवादी पक्षका २९ कार्यकर्ताको ज्यान गएको थियो । माओवादी र फोरमले एउटै चौरमा कार्यक्रम गर्ने तय गरेपछि दुई पक्षबीच झडप भएको थियो । झडपमा मारिएकाहरुको परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला प्रशासन कार्यालय रौतहट, राष्ट्रिय मानव अधिकार आयोग लगायतको निकायमा उजुरी गरेका थिए । तर, उनीहरुको उजुरीमाथि हालसम्म सुनुवाई भएको छैन । सोही बिषयलाई लिएर पीडित पक्षले सर्बोच्चमा रिट निवेदन दिएका थिए ।