मंसिर २१, काठमाडौँ । जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत तारकेश्वर नगरकमिटिको आयोजनामा बिशेष प्रशिक्षण कार्यक्रम प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को प्रमुख आथित्यमा सम्पन्न भएकाे छ । बिहीबार तारकेश्वर नगरपालिकास्तरीय पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले अबको एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुने बताएका छन् ।
उनले एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी र बजेटको विषयमा बेग्लै तरिकाले प्रस्तुत गरेको जिकिर गरे । प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखेर हौसिएका प्रचण्डले यही रफ्तारमा विचार र कार्यशैलीको हिसाबले लिड गर्न सके २०८४ अघि नगरपालिका पार्टीको कब्जामा आउने दाबी गरे ।

‘पहिलो पटक उपस्थित भएको यस कार्यक्रममा कार्यकर्ताहरूको उपस्थिति, उत्साह र आत्मविश्वास देख्दा म निकै खुशी भएको छु । आगामी दिनमा अभियानलाई निरन्तरता दिन सक्यौं, विचार र कार्यशैलीको हिसाबले लिड गर्न सक्यौं भने २०८४ नपुग्दै यो तारकेश्वर नगरपालिका पार्टीको नियन्त्रणमा लिने विश्वास व्यक्त गर्छु’, उनले भने । करिब डेढ घण्टा प्रशिक्षण दिएका उनले सरकारले गरेको काम, अभियानको उद्देश्य, पार्टीको आगामी योजना र कार्यक्रमबारे धारणा राखेका थिए ।

नगर अध्यक्ष जगन्नाथ राजबहाकले अध्यक्षता गरेकाे कार्यक्रमको संचालन नगर इन्चार्ज राम कुमार थापाले गरेका थिए भने नगर उपाध्यक्ष प्रकाश फुयांलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
