असाेज २०, हाङझाउ । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङले नेपाललाई रजत पदक दिलाएकी छन् । कराँतेको कुमुतेतर्फ ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् ।
एरिकाले फाइनल पुगे लगत्तै रजत पदक पक्का गरेकी थिइन् । स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा एरिक काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग पराजित भएपछि रजतमै सिमित भइन्। उनले त्यसअघि शनिबारै भएको क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १-१ अंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् । एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक पक्का गरेकी हुन् । यसअघि नेपालले कबड्डीमा कांस्य पदक जितेको थियो ।
एरिकाले एसियाडअघि इन्डोनेसियामा भएको दशाैं वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
