• २०८३ बैशाख १९ गते शनिवार

सभामुख घिमिरेसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् । सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बिहीबार भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको हो ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार भेटमा सभामुख घिमिरेले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे । ‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी लागेको छ,’घिमिरेले भने ।

नेपाली विद्यार्थीहरुको ठूलो संख्या अष्ट्रेलियामा रहेको बताउँदै सभामुख घिमिरेले उनीहरुको शैक्षिक वृत्ति विकासबारे चासो राखे । जवाफमा राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गराइन् ।

उनले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै गएको वैशाखमा अष्ट्रेलियाका सहायक विदेश मामिला मन्त्री टिम वाट्सले नेपाल भ्रमण गरेको स्मरण गराइन् । उनले आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस