आज वि.सं. २०८० श्रावण २२ गते सोमवार तदनुसार ई. सं. २०२३ अगस्ट ०७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, चन्द्रास्त : दिउँसो १०:३६ बजे र चन्द्रोदय : बेलुका १०:४३ बजे, श्रावण कृष्णपक्ष (अनलागा) षष्ठी तिथि, दिउँसो ११:०१ बजेसम्म, त्यसपछि सप्तमी तिथि, रेवती नक्षत्र, बिहान ०८:०१ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, बिहान ०८:०१ बजेसम्म, त्यसपछि मेष राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्नुपर्छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । कर्मप्रतिको निष्ठाभावमा बृद्धि हुनेछ । हाकिम, गुरुजन वा ठूलो मान्छेसँग उठबस गर्न पाइने छ, घरपरिवारबाट पनि शुभ समाचार प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विपरीत लिङ्गीहरूसँग उठबस हुने वा कुनै विशेष सहयोग पाउन सक्नुहुन्छ, किनमेलका क्षेत्रबाट पनि लाभ हुनेछ, सँगीसाथीले पूणर्रूपेण सहयोग गर्नेछन् । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूणर् पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ ।