मंसिर २०, काठमाडौं । नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेका हुन् ।
पक्राउ पर्नेमा उदयपुर घर भएका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौँ घर भएका सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौँ– १६ घर भएका रोजल महर्जन, ३१ वर्षीय क्षितिज गिरी र सिराहा घर भएका १९ वर्षीय दिपेन परियार, काभ्रे घर भएका सुवास लामा, चितवन घर भएका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गा घर भएकी सुजता दाहाल, लमजुङ घर भएका ईश्वर अधिकारी र दाङको घोराही उपमहानगर पालिका घर भएका ३८ वर्षीय द्रोणा डाँगीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ गरिएकाहरू दुई समूह हुन् । एउटा समूहको नेतृत्व ओखलढुङ्गा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीय सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालले गर्दै आएका थिए । अर्को समूहको नेतृत्व हरिबहादुर विश्वकर्मा र ईश्वर अधिकारीले गरेका हुन् ।
आरोपीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट सडक मार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गिरोहले प्रतिव्यक्ति ७ लाख देखि २० लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
