आज वि.सं. २०८० श्रावण २० गते शनिवार तदनुसार ई. सं. २०२३ अगस्ट ०५ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, चन्द्रास्त : बिहान ०८:३९ ब,जे र चन्द्रोदय : बेलुका ०९:१४ बजे, श्रावण कृष्णपक्ष (अनलागा) चतुर्थी/चौथी तिथि, दिउँसो ०२:५८ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, पूर्वाभाद्रा नक्षत्र, बिहान १०:३० बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । भाइबहिनी वा छोराछोरीसँग सम्बन्ध/सम्पर्क बढ्नाले मन प्रसन्न रहने छ, कुनै प्रतिस्पर्द्धा वा परीक्षामा सहभागी हुँदा सफल भइने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ । कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । अड्डा/अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ, तर आज झैझगडा र विवाद/बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पूणर्रूपेण तन्मय भएर काममा खट्ने दिन हो, तर आजको थकित दिन पनि साँझमा एउटा रोमान्टिक पलका रूपमा परिणत हुनसक्छ । साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो ।