जेठ २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जनवर्गीय संगठनहरुले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई एक चुड्कीका भरमा ढालिदिने चेतावनी दिएका छन् ।

गैरसंवैधानिक रुपमा जारी गरिएको नागरिकता विधेयक, जन्मकैद भोगिरहेका रेशम चौधरीको रिहाई, प्रधानमन्त्रीको भारत भ्रमणका सवालमा गरिएको राष्ट्रघात गरिएको भन्दै एमाले निकट जनवर्गीय संगठनहरुले आज काठमाडौँमा वृहत प्रदर्शन गरेका छन् । हजारौंको संख्यामा उपस्थित रहेका एमालेका २३ वटै जनवर्गीय संगठनहरुले काठमाडौँको माइतिघरबाट नयाँ बानेश्वरसम्म विरोध र्याली गरेका थिए ।
र्याली पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेपालको परिवर्तनको आन्दोलनमा एमालेको भूमिकाको स्मरण गर्दै राजतन्त्रलाई समाप्त पारेजस्तै प्रचण्ड नेतृत्वको सरकारले जनविरोधी गतिविधिहरु तत्काल फिर्ता नलिएर युवा तथा विद्यार्थीको संघर्षबाट नै सरकारलाई ढालिदिने चेतावनी दिनुभयो । प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रघाती कदमहरु चलाएको भन्दै उहाँले देश र जनताको न्यायको लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘टीकापुरको जघन्य अपराधिक घटनाको मुख्य अपराधीलाई सर्वोच्च अदालतले समेत जन्मकैदको फैसला सुनाई सकेको अवस्थामा सर्वोच्च अदालतको समेत मानहानी हुने गरी सरकारले आम माफी दिन्छ । आफ्नो सरकार टिकाउन राष्ट्रघाती नागरिकता विधेयक पारित गरी विधेयक खल्तीमा लिएर प्रधानमन्त्री भारत भ्रमण गर्छन् । यस्तका जनविरोधी, राष्ट्र विरोधी हर्कतहरु हामीलाई कहिले पनि स्वीकार्य हुन सक्दैन । यस्ता कार्यहरुको संघले तहसनहस बनाउनेछ । एक वालकले नागरिकता पाउन १६ वर्ष पर्खनुपर्छ, एउटा नेपाली चेलीले भारतमा विवाह गरे अंगिकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्छ । आज यो सरकार मण्डपमा नै नागरिकता बाढ्न चाँहदैछ । यो नागरिकता विवाहमा दिने गिफ््ट हैन, यो देशको नागरिकता हो । विधेयकको सवालमा राष्ट्रपति भन्न पनि लाज लाग्छ, कसरी भनौं ? निष्कृय विधेयकलाई चोरको दुलोबाट रातारात नागरिकता विधेयक प्रमाणीकरण गरिन्छ र प्रधानमन्त्री प्रमाणिकरण गरिएको नागरिकता कोशेली बोकेर भारतको भ्रमण गरिन्छ । यो देशको नागरिकता बेचेर भारत कोशेली लाने हैन, हामी नागरिकतालाई बेचेर भौंसीलाई उपहार लिनेकुरा हामी कदापी मान्दैनौं । आज हामीले गरेको आन्दोलन कास्टिङ मात्र हो पुरै फिल्म देखाउनु पर्यो भने राजसंस्थालाई तहसनहस बनाएर हटाएको थियौं । यदि फिल्म देखाउनु पर्यो भने तिमी जस्ता प्रभुका आसेपासेले बनेको नालायक राष्ट्रघाती सरकारलाई एक चुट्कीको भरमा ढालिदिन्छौं । तसर्थ चाँडोभन्दा चाँडो नागरिकता विधेयक फिर्ता गर, चाँडोभन्दा चाँडो अपराधिलाई कारवाही गर ।’

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले वर्तमान सरकारको राष्ट्रघाती तथा जनताविरोधी कार्यहरुले नेपाली जनताले रगत बगाएर ल्याएको गणतन्त्रलाई संकटको डिलमा पुर्याएको आरोप लगाउनुभयो । कुनै बाटोको बहानामा प्रचण्ड सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको कुरा भारतलाई सुम्पने तयारी गरिरहेको जानकारी आएको बताउँदै उहाँले यदि उक्त कदम चालिए चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो । प्रचण्डले भारतमा बसेर युद्ध लडाएको जस्तो समय अहिले नभएको उल्लेख गर्दै उहाँले अब नेपाली जनता जागरुक भइसकेको बताउनुभयो । जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्ने तर कसैको स्वार्थको लागि नागरिकता बेच्न नपाउने उहाँले बताउनुभयो ।

जुलुसका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल राजिनामा दे, प्रधानमन्त्री प्रचण्ड राजिनामा दे, भारतीय विस्तारवाद मुर्दावाद, लुम्बिनी–कपिलवस्तु हाम्रो हो, गठबन्धन सरकार विकेछ–भारतसँग झुकेछ, रेशमलाई दिएको माफी फिर्ता गर, न्यायालयमाथिको राजनीतिकरण बन्द गर, गठबन्धन सरकार मुर्दावाद, प्रचण्डे तेरो पाराले–दू:ख पाए साराले, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, अनेरास्ववियु जिन्दावाद, आर्यघाटले के भन्छ, प्रचण्डेलाई ले भन्छ, नेकपा एमाले जिन्दावाद लगायतका नाराहरु लगाउँदै सरकारको कडा शब्दमा आलोजना गरेको छ ।
