मंसिर १८, सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली देशमा मनपरितन्त्र चलिरहेको आरोप लगाएका छन्। बैतडीको झुलाघाट मध्यपहाडि लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेका अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्धनको सरकारका कारण देशको राष्ट्रियता र स्वतन्त्रता कमजोर भएको बताए। ओलीले सरकार सीमा रक्षामा पनि चुकेको बताए।

देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतिशत ब्याजदर दरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काढेर देश चलाउनु पर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै पुर्वप्रधानमन्त्री ओलीले भने, ‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुषखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ । देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’
उनले यो एमालेलाई मात्रै नभएर सबै राजनीतिक दल, जनतालाई पनि चिन्ता हुनुपर्ने बताए। अहिले कृषिका उर्वर भूमिहरु उजाड हुँदै गएको बताउँदै उनले दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरु विकास र समृद्धिका हिसाबले निकै राम्रो फड्को मार्दै गएका बताए। अध्यक्ष ओलीले स्थलगत अनुगमन र नयाँ कामका सम्भावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि यो अभियान सुरु गरेको बताए ।
सुर्खेतमा आयोजित सन्देश सभालाई संवोधन गर्दै ओलीले देशको स्वाभिमान, देशको अस्थित्व रक्षा र समृद्धिका लागि, भ्रष्टाचार र घुषखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । उनले वर्षका आधारले मात्रै राजनीतिक दल पुरानो नहुने बताए। पछिल्लो समय ठूला राजनीतिक दलहरुलाई पुराना दलको संज्ञाप्रति इंगित गर्दै ओलीले पार्टीको नीति, बिचार र कार्यक्रमका आधारमा मात्रै राजनीतिक पद नयाँ र पुरानो हुने बताए ।