आज वि.सं. २०८० श्रावण १९ गते शुक्रवार तदनुसार ई. सं. २०२३ अगस्ट ०४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, चन्द्रास्त : बिहान ०७:३९ बजे र चन्द्रोदय : बेलुका ०८:३० बजे, श्रावण कृष्णपक्ष (अनलागा) तृतीया तिथि, साँझ ०५:१६ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, शतभिषा नक्षत्र, दिउँसो १२:०२ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपछि ०४:५१ बजेसम्म, त्यसपछि मीन राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । फाइदा हुने र लाभमूलक क्षेत्रमा मनको आकर्षण रहनेछ । शरीर स्वस्थ रहनुका साथै गरेको कर्मफलका रूपमा धनको वर्षा नै हुने सङ्केत देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
झैझगडा र मुद्दामामिलाभन्दा एक कदमपछाडि हटेको जाती हुन्छ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्नसक्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।