कात्तिक १६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउने तरमाराहरूको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन् । बिहीवार संसद भवनमा बसेको एक बैठकलाई उनले हिंसा मच्चाउने र अन्याय गर्नेहरू नै आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन भनेर लागेको बताए।

उनले क्रुर हत्या गर्नेहरूका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्ति जनाए। उनले हिंसा शुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट कसरी शान्ति प्रक्रिया टुंगिन्छ ? भन्दै प्रश्न गरे। उनले शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्ने बताए।
अध्यक्ष ओलीले सरकार संविधान मिच्ने, बहुमतको घमण्ड गर्ने र अहंकार देखाउने काममा लागेको बताए। उनले स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्ने कुरामा अहिलेको सरकार लागेको छ भन्नेकुरा रिगल ढकालको विषयमा सर्वोच्च अदालतले आज दिएको आदेशले पनि पुष्टि गरेको बताए।
उनले जनतालाई त्रसित बनाउने, दुःख दिने काममा सरकार लागेको आरोप लगाए।