आज वि.सं. २०८० श्रावण १७ गते बुधवार तदनुसार ई. सं. २०२३ अगस्ट ०२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रास्त : सूर्योदयपूर्व ०५:३९ बजे र चन्द्रोदय : साँझ ०७:०० बजे, श्रावण कृष्णपक्ष (अनलागा) प्रतिपदा/परेवा तिथि, बेलुका १०:११ बजेसम्म, त्यसपछि द्वितीया तिथि, श्रवण नक्षत्र, दिउँसो ०३:२३ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि ०२:३२ बजेसम्म, त्यसपछि कुम्भ राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । कामको बोझ बढ्नेछ, अथक परिश्रम र कडा मिहिनेतको समय छ, तर पनि समुचित प्रतिफल प्राप्त गर्न नसक्दा मन दुखित बन्नसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निणर्य गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ, आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । बुद्धिको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूणर् काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । उदारमना व्यक्तित्व वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ, आवश्यक परेमा उहाँहरूको सुझाव प्राप्त हुनाले देखिएका बाधा हट्नसक्छन् । खातापातालाई दुरुस्त बनाइने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । गरिआएको काम वा व्यापारिक गतिविधिमा कुनै पनि प्रकारको परिवर्तन ल्याउने प्रयास नगर्नुहोस्, वर्तमान परिस्थितिमा मात्र ध्यान दिनु बेस हुनेछ ।