आज वि.सं. २०८० आश्विन १४ गते आइतवार तदनुसार ई. सं. २०२३ अक्टोबर ०१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : बिहान ०७:१८ बजे र चन्द्रोदय : बेलुका ०७:०८ बजे, सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे, आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) द्वितीया तिथि, दिउँसो १२:११ बजेसम्म, त्यसपछि तृतीया तिथि, अश्विनी नक्षत्र, मध्यरात्रीपूर्व ११:१० बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खुट्टा तान्ने र कुरा काट्ने शत्रुहरूसित सतर्कता अपनाउनु होला, त्यस्तै वाचा गर्नेले धोका दिनसक्छन् । हडबड, शीघ्रता र क्रोध पनि आजका शत्रु हुन् भन्ने बुझ्नुपर्छ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । उच्च महत्त्वाकाङ्क्षा कायम राखी अघि बढ्ने प्रयास गर्नुहोस्, जहाँ दृढ इच्छा र सबल मानसिकता हुन्छ, त्यहाँ दैवले पनि सघाउ पुर्याउने गर्दछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । अनुभव वा सीपको प्रयोग गरी आम्दानी बढाउन सकिने छ, आन्तरिक प्रतिभा वा अभिव्यक्तिगत कलाको प्रस्तुति गर्दै मानसम्मानसमेत जुटाउन सकिने छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चुनौती झेलेर सफलता प्राप्त गर्ने समय छ, खिसीट्युरी गर्नेहरू र प्रतिस्पर्द्धीमाथि विजय प्राप्त हुनेछ, तथापि झैझगडा र विवादबाट टाढा रहनु ठीक हुन्छ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला । पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ ।