जेठ १८, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकोले आज (बिहीबार) सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा मौसम आंशिक देखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार,सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरु तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै आज मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ । आज राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना पनि छ ।