माघ १६, रौतहट नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा वृहत् प्रदर्शन गरेको छ । संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक र्यालीको आयोजना गरेको हो ।
उनीहरुले स्थानीय निर्वाचनको मिति घोषणा गर, अपराधी मन्त्री रेणु यादव राजिनामा दे, लुट-आतंक बन्द गर, मापसे सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्याली चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै संघका स्थायी कमिटी सदस्य एवम् एमाले रौतहटको जिल्ला कमिटी सदस्य निवेश यादवले दलाल गठबन्धनको सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिन आग्रह गरे । विगतमा २० वर्षसम्म स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाएर लोकतन्त्रको मजाक उडाउने कलंक बोकेको देउवा सरकारले पुन: कलंक दोहोर्याउन उद्दत रहेको यादवको भनाई छ । यादवले तत्काल निर्वाचनको घोषणा नगरेको खण्डमा सरकारविरुद्ध देशभर युवा संघद्वारा जारी सडक संघर्ष अझ सशक्त बनाउने गर्ने उद्घोष गरे ।
राष्ट्रिय युवा संघले गत साता रौतहट सदरमुकाम गौरमा मन्त्री रेणु यादवको बर्खास्ती लगायतको माग राख्दै प्रदर्शन गरेको थिए । दुबै प्रदर्शन संघको जिल्ला संयोजक बालाशंकर कुश्वाहाको नेतृत्वमा भएको थियो ।