माघ ११, रूपन्देही । रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलबार दिउसो महिला र बालिकाको हत्या गरिएको अवस्था शव फेला परेको छ । उनीहरू दुवै जनाको घाँटी रेटिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा डिएसपी ठगबहादुर केसीले दुवैको घाँटी रेटिएको अवस्थामा भेटिएकोले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बताए ।
देवदह नगरपालिका वडा नम्बर ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट २५ मिटर भित्र जंगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । हत्या गरिएका महिला र बालिकाको सनाखत हुन सकेको छैन । महिला अन्जादी ३० वर्ष माथि र बालिका ७ वर्ष जतिको रहेको प्रहरीले अनुमान गरेको छ ।
शव भेटिएको स्थानमा अन्य कुनै सामानहरु छैन । झोला वा अन्य कागजपत्र नहुँदा शवको पहिचान गर्न प्रहरीले सकिरहेको छैन । हत्या गरेर जंगलमा शव फालिएकाले घटना शंकास्पद रहेको छ । १०/१२ घण्टा अघिको आसपासमा हत्या गरेर फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी मनोज कुमार केसीले बताए ।
मंगलबार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिला र बालिका तराई मूलका जस्तो देखिन्छन । उनीहरु आमाछोरी हुनसक्ने प्रहरीले जनाएको छ । पछिल्लो समय रुपन्देहीको देवहवमा अपराधिक घटना धेरै हुन थालेको छन् । उनीहरुको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।