असोज ८, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपाल भ्रमणमा रहेका युरोपियन युनियनका सांसद म्याक्सिमिलियन ख्राबबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र युरोपियन युनियनको आर्थिक तथा कुटनीतिक सम्बन्ध, नेपालको राजनीतिक तथा आगामी मंसिरमा हुने प्रतिनिधिसभा– प्रदेशसभा निर्वाचन लगायनका विषयमा छलफल भएको छ ।
मन्त्री बडूले इयूले नेपालको शान्ति प्रक्रिया र आर्थिक सामाजिक विकासमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको विकास प्राथमिकताका क्षेत्रमा लगानी अभिबृद्धिका लागि सांसदको रुपमा पहल गर्ने विश्वास व्यक्त गरे । उनले नेपालले इयूको सहयोगमा कार्यान्वयन गरिरहेको व्यापार र लगानी कार्यक्रमको नतिजा सन्तोषजनक रहेको र मन्त्रालयले बनाउन लागेको नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनका लागि पनि इयूबाट महत्वपूर्ण सहयोगको अपेक्षा रहेको जानकारी गराए ।