वि.सं. २०७९ आषाढ १० गते शुक्रवार तदनुसार ई. सं. २०२२ जुन २४ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, आषाढ कृष्णपक्ष (तछलागा) एकादशी तिथि, मध्यरात्रीपछि ०१:१६ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्विनी नक्षत्र, दिउँसो ११:१० बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, व्यवहारिक समस्या हल गर्न सहयोग आदान/प्रदान हुनसक्छ । व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरुको विश्वास गर्दा धोका पाइने छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनुपर्ने हुन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । गरेका प्रयास र उद्यममा अलिबढी सङघर्ष र चुनौती झेल्नुपर्ने हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामविशेषले देश/विदेशको यात्राको अवसर पाइने छ, प्रयत्न गर्दा पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो । व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला । कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, विभिन्न सहयोग र उपहार पनि प्राप्त हुनेछन्, तर गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्ने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । अलि बढी मिहिनेत गर्नुपर्ने समय छ, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । लवमेटसँग कुनै समारोहका बीचमा भेटघाट हुनाले प्रसन्नता बढ्नेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बन्नसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नकारात्मक र हीनभावको उदय हुनेछ, सकेसम्म सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्नु होला । तर पनि दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । कुनै धार्मिक/ऐतिहासिक महत्त्वको क्षेत्रको भ्रमण पनि हुनसक्छ, तर सानातिना बिमारी र चोटपटकको सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । आकर्षक छवि र कुशल व्यवहारको प्रदर्शन गर्नुपर्छ । महत्त्वपूणर् निणर्य लिनुअघि निकै सोचविचार गर्नुहोला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धेरैजनासँग मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त गर्न धौधौ हुन्छ । शीघ्रता र हतार गर्दा कुनै काम सफल हुँदैन । व्यापारमा परिवर्तन गर्ने वा नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । अरुको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ, पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला, त्यस्तै गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिन्छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनुपर्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गरेको मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ । साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर प्राप्त हुनेछ । खासगरी महिलाहरूका लागि विशेष उपलब्धि पाउने समय हो, व्यक्तिगत पहिचान र व्यवसायिक गतिविधिको स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्छ । फाल्तु कुरामा वा गफगाफमा बढी समय बिताउन सक्नुहुन्छ, तर पनि बुद्धिचातुर्य वा कूटनीतिक बुद्धिको उपयोग गर्दा आइपरेका समस्यालाई हल गर्न सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अपशब्दको प्रयोग गर्नाले आफन्तहरूसित वैरभाव सिर्जना हुनेछ । त्यसैले आफ्नो मुखलाई पूणर्रूपेण नियन्त्रणमा राख्नु आवश्यक छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक रूपमा लाभसमेत पाउन सक्नुहुन्छ ।