फागुन १२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) संसदबाट कुनै पनि हालतमा पास हुन नदिने उद्घोष गर्नुभएको छ ।

बुधबार साँझ नै पर्वत पुगेका शर्माले बिहिबार बिहान बागलुङको निर्माणाधीन बलेवा विमानस्थलको अवलोकन गरे। नेकपा माओवादी केन्द्र कुश्माका अध्यक्ष शंकर गिरीका अनुसार शर्माले पर्वतका विभिन्न पर्यटकीय सम्भावनाको अवलोकन गर्नुभएको छ । संसदको बिहिबार बस्ने बैठकमा अर्थमन्त्री शर्माले एमसिसी छलफलका लागि पेश गर्ने कार्यसूची संसद सचिवालयले प्रकाशन गरेको थियो । तर बिहिबार पनि उनी संसदमा गयल हुने भएका छन्। संसद छल्नकै लागि अर्थमन्त्री शर्मा पर्वत पुग्नुभएको छ ।
अर्थ मन्त्रालय मातहत रहेको एमसिसी परियोजनाबारे संसदमा छलफल हापेर अर्थमन्त्री नै अन्यत्र हिड्नु गलत भएको भन्दै शर्माको आलोचना भइरहेको छ। संसद बैठक चलिञ्जेल शर्मा पर्वतमै रहने माओवादीका स्थानीय कार्यकर्ताहरुले बताएका छन्। अर्थमन्त्री शर्माले भने एमसिसी संसदीय प्रक्रियामा प्रवेश गरेकाले प्रक्रियाबाटै टुंगो लाग्ने बताउनुभयो ।
अर्थमन्त्री शर्माले एमसिसी संसदबाट पास हुन नसक्ने बताएका छन्। कार्यकर्ता भेटघाटमा शर्माले अहिलेको स्थितिमा एमसिसी पारित हुन नसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘संसदबाट एमसिसी पारित हुँदैन । तपाईँहरू ढुक्क हुनुस्, जनताको भावना विपरित एमसिसी पास हुन दिन्नौं ।’