वि.सं. २०७९ श्रावण ०७ गते शनिवार तदनुसार ई. सं. २०२२ जुलाई २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३ नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, श्रावण कृष्णपक्ष (दिल्लागा) दशमी तिथि, दिउँसो ०१:२६ बजेसम्म, त्यसपछि एकादशी तिथि,कृतिका नक्षत्र, बेलुका ०९:३८ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आर्थिक पक्ष सुदृढ देखिन्छ र विभिन्न स्रोतबाट आम्दानीमा समेत बृद्धि हुने सङ्केत छ । बोली र कामको कदर हुने समय छ । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । धन बढाउन गरिएको प्रयास सफल हुनेछ वा ऋण उठाउने वा फँसेको धन उकास्ने समय छ । मुखका माध्यमबाट पनि कुनै अवसर फुत्काउन सक्नुहुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । प्राविधिक कार्यमा सफलता पाइने छ । सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग पाइने छ । प्रेम सम्बन्धमा सुदृढता आउने छ । घरजग्गा वा कुनै स्थिर सम्पत्तिका लागि धनसञ्चय गर्न सकिने छ । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीहरूले खुसी हुने मौका पाउनेछन्, नयाँ काममा थप लगानी गर्ने मनस्थिति बन्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता अपनाउनु होला । उच्च महत्त्वाकाङ्क्षा राख्नु ठीक होइन, सानो लापरबाहीले दूरगामी भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । करार र सम्झौताबाट लाभ मिल्ने समय हो, नयाँ समझौता गरी आम्दानीको पाटो बलियो बनाउन सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ । कुनै ठोस काम अघि बढाउनु छ भने मातापिता वा सिनियर साथीहरूको सहमतिमा गर्नुहोला । घरमा सुखशान्ति र आनन्दकै वातावरण देखिन्छ । व्यवहार गर्दा कर्तव्य, दायित्व र मर्यादाप्रति सचेत रहने कोशिस गर्नुपर्छ, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । शरीर भारी र मन अस्थिर रहने सङ्केत छ । सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला, नत्र झमेला आउने समय छ । वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । आकर्षक छवि र कुशल व्यवहारको प्रदर्शन गर्नुपर्छ । महत्त्वपूणर् निणर्य लिनुअघि निकै सोचविचार गर्नुहोला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने समय हो, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रकृतिमा समय बिताउँदा छटपटी र निराशा हट्नेछ । आफन्तको चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, तर धनसम्पत्ति र सुखसुविधा साधनमात्र हुन् । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । स्वास्थ्यगत कमजोरीले रोमान्टिक जीवन प्रभावित बन्नसक्छ, तर पनि आत्मबल कायम रहनाले मन प्रसन्न रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ योजना सुरु गर्ने, राम्रो अवसर मिल्ने तथा नयाँ ज्ञान सिक्ने मौका छ । धैर्य एवं लगनशीलता भएमा ताकेको काममा सफलता मिल्नेछ । दिगो लगानीबाट फाइदा हुनेछ । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख/सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके/ताकेका काम पनि सम्पन्न हुने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । घरबाट शुभकार्यको समाचार आउनसक्छ । मस्ती गर्न मन लाग्नेछ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका सामाग्री र भोगविलासका क्षेत्रबाट फाइदा लिन सकिने छ । थोरै समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खासगरी महिलाहरूका लागि विशेष उपलब्धि पाउने समय हो, व्यक्तिगत पहिचान र व्यवसायिक गतिविधिको स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्छ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा/अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।