आजको पञ्चाङ्ग, वि.सं. २०७९ आषाढ ०९ गते बिहीवार तदनुसार ई. सं. २०२२ जुन २३ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, आषाढ कृष्णपक्ष (तछलागा) दशमी तिथि, मध्यरात्रीपछि १२:५१ बजेसम्म, त्यसपछि एकादशी तिथि, रेवती नक्षत्र, बिहान १०:२२ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, बिहान १०:२२ बजेसम्म, त्यसपछि मेष राशिमा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता अपनाउनु होला । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । अरुका विचार र भावनालाई बेवास्ता गर्ने बानी छ भने अहिले विवाद र कलहको योग बनेको छ, व्यवहारिक र लचिलो बन्ने प्रयास गर्नुपर्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । काम गर्दा विभिन्न अवरोध र बाधा सिर्जना हुने तथा अनावश्यक खर्च बढ्ने समय छ । कुनै पनि जोखिमयुक्त काममा सहभागिता नजनाउनु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । घरमा सुखशान्ति र आनन्दकै वातावरण देखिन्छ । व्यवहार गर्दा कर्तव्य, दायित्व र मर्यादाप्रति सचेत रहने कोशिस गर्नुपर्छ, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । आम्दानीको मार्गमा नयाँ किरण देखापर्ने दिन हो । कर्मप्रतिको समर्पणभाव बढाउनुस्, भाग्यबृद्धि हुनेछ । पारिवारिक वा सामाजिक काममा व्यस्त रहँदा बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक तथा परोपकारी कार्यमा दिलचस्पी जाग्नेछ । आज पुर्याएको सानो सहयोगले कसैले ठूलो उद्धारको अवसर पाउन सक्छ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । कुरा काट्ने र विरोध गर्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । मन पिरोल्ने समस्यालाई हल गरिने छ, प्रयास गरेमा मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि तपाईंको मनको कुरो बुझिदिंदा दङ्ग पर्न सक्नुहुन्छ । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । भेटघाट र मिलनको समय छ, तर बेकारका कुराकानी र ख्यालठट्टाले आपसी दूरी बढ्नसक्छ । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख/सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके/ताकेका काम पनि सम्पन्न हुने समय हो । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ । बौद्धिक क्षेत्र र चिन्तनमा सक्रियता देखाउने समय हो । मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गपसप गर्ने र समययापन गर्ने मौका मिल्नेछ, एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयत्न हुनेछ । हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । इष्टमित्र र सँगीसाथीको साथ पाइने छ । यो परोपकारी र साहसी काम गर्ने समय पनि हो, तर भाइबहिनीको इच्छापूर्तिका लागि खर्च बढाउनुपर्ने हुन्छ । कारोबारमा सफलता पाउन सक्नुहुन्छ, दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्नसक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, दायित्वमा लगनशील बन्नसकेमा फाइदा हुनेछ, मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने छ ।