फागुन ११, रुपन्देही । लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले अदालती प्रकृयाको बेवास्ता गरेकी छन् । आफैले दर्ता गराएको मुद्दाको तारेखमा उनी आफू पनि उपस्थित नभएको र वारेस पनि नपठाएको पाइएको हो ।

जसपा नेपालकी प्रदेशसभा सदस्यसमेत रहेकी कृषि, खाद्य तथा भूमि व्यवस्थामन्त्री रायमाझीलाई एमाले नेतृत्वको तत्कालीन सरकारमा पार्टीको निर्णय बिना नै सहभागी भएको भन्दै पार्टीले कारबाही गरेको थियो । सो कारबाहीविरुद्ध उनीसहितका चार जनाले अदालतमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतमा दायर गरेको उक्त मुद्दाको सुनुवाइका क्रममा मन्त्री रायमाझीले तारेख गुजारेकी हुन् । गत पुस ११ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले निवेदकहरु को कसले कहिले कुन कुन मितिमा तारेख गुजारेको हो भन्नेबारे मुद्दा महाशाखाका सहरजिष्ट्रारबाट प्रतिवेदन लिइ पेस गर्न आदेश दिएको थियो ।
गत फागुन ४ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सुमन शर्मा रायमाझी आफै वा वारेसमार्फत उपस्थित नभइ गत भदौ १७ गतेको तारेख गुजारेको र थाम्ने थमाउने म्याद बाँकी रहेको नदेखिँदा निजको हकमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ८२ (ख) बमोजिम प्रस्तुत निवेदन तामेलीमा राखिदिएको आदेश गरेको छ ।
जसपाले उनीसहित मन्त्री बनेका सन्तोष पाण्डे,विजय यादव, कल्पना पाण्डेलाई पार्टीबाट कारबाही गरेको थियो । सो कारबाहीपछि चार जनाले कारबाहीविरुद्ध रिट निवेदन दायर गरेका थिए । यद्यपि, सुमन शर्मा रायमाझीले गल्ती स्वीकार गर्दै पार्टीको निर्णय मान्ने भन्दै एमाले नेतृत्वको तत्कालीन सरकारबाट फिर्ता भएकी थिइन् । हाल उनी गठबन्धन सरकारमा सामेल छिन् ।