असोज ६, काठमाडौँ । असारयता तीव्र रुपमा फैलिइरहेको डेङ्गु संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या २५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको हो ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौँमा पाँच हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा पाँच हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेङ्गु संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् ।