वि.सं. २०७८ चैत्र ०८ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा), नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०६:१५ बजे, चैत्र कृष्णपक्षको चतुर्थी (चौथी) तिथि, बिहान ०८:१९ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, विशाखा नक्षत्र, बेलुका १०:०६ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, दिउँसो ०४:२७ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धनबृद्धिको प्रयास र आन्तरिक सुखका मामिलामा जीवनसाथीको साथसहयोग प्राप्त हुनेछ । कुनै उपकरण वा मनोरञ्जनका सामाग्री खरिद गर्ने मनसाय बन्नसक्छ । त्यस्तै प्रियजनलाई उपहारसमेत दिन सकिने छ । इच्छा पूरा हुने दिन हो । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने समय हो । मन रमणीयता र भावुकतातर्फ आकर्षित बन्ने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय नराम्रो छैन, तर शारीरिक थकान र बेचैनीका कारण तपाईं आफ्नो लक्ष्यबाट विचलित हुन सक्नुहुन्छ, अरुको समस्यामा चिन्ता गर्ने हुँदासमेत तनावमा बृद्धि हुनसक्छ, सहनशक्ति बलियो बनाएर अघि बढ्नुपर्छ । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । पार्टनरको व्यक्तिगत स्वास्थ्यमा वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, भलाकुसारी गरी भावना साटासाट गर्नु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चिन्तन र दृष्टिकोणलाई सही ढंगले प्रस्तुत गरेमा कार्यक्षेत्रमा सम्मान बटुल्न सकिने छ । शिक्षादीक्षामा संलग्न व्यक्तिले विशेष लाभ पाउनसक्छन् । आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने समय छ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । बरु छोराछोरीको खुसी र उन्नतिका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । परिवारका सदस्यहरूबाट अनुकूल व्यवहारको आशा गर्न सकिन्छ । बन्दव्यापारमा राम्रो छ। नयाँ र नौला व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । शरीर स्वस्थ रहनुका साथै चिन्तामा कमी आउनेछ, तथापि कुनै पनि काममा हतार र शीघ्रता गर्नु हुँदैन । कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सँगीसाथीसँग अलमलिंदा वा आफ्नै काममा व्यस्त रहनाले भेटघाटको अनुकूलता मिल्दैन, तर यथासम्भव तालमेल मिलाउनु राम्रो हुन्छ । सहकर्मी साथी, अनुयायी वा भाइबहिनीको सहयोग जुटाएर कुनै ठूलै काम बनाउन सकिने समय छ । हाकिम वा वरिष्ठको सहानुभूतिसमेत प्राप्त हुनेछ । कुनै विशेष काममा साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिनेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय हुन सकिन्छ । व्यस्तताका बाबजुद थप आम्दानी हुने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कला, कविता र साहित्यमा रूचि बढ्नेछ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । धनार्जन गर्न कुनै काम थालनी गर्ने दिन हो । पैसा खर्च गर्ने मामिलामा सतर्क रहने समय हो । उत्पादनमूलक र खाद्यान्नका व्यवसायमा बढी फाइदा हुनसक्छ । बोली र आचरणमा पनि संयमता अपनाउनु राम्रो हुन्छ । शरीरमा विशेष ताजगी र स्फूर्ति बढ्नेछ । आज नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा केन्द्रित हुनुपर्ने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जोशजाँगर र नयाँ उत्साह जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर अहङ्कारबाट टाढा रहनु र आफ्नो दृष्टिकोणलाई प्रष्टसँग राख्नु समुचित हुनेछ । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाति हुन्छ । सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुने समय छ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुरा प्रति रूचि जागृत हुनेछ । उच्च शिक्षाका छात्रछात्राले लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुन्छ । घरबाहिर रमाइलो वातावरण रहनेछ, काममा सहजता महसुस गर्नुका साथै व्यापार व्यवसायबाट सन्तुष्टि मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो मिहिनेत गर्ने दिन हो, अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार प्रतिफल पनि राम्रै हुनेछ । सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । परिवारमा कुनै अतिथिको आगमन हुनाले वा कार्यक्षेत्रको व्यस्तताले आपसी समन्वयमा कमी देखिने छ, भेट हुनसक्दैन भने कुराकानी गर्ने प्रयास गर्नुहोला । ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछ । नयाँ ठाउँको भ्रमण वा अवलोकन हुने समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक वातावरण रमाइलो नै देखिन्छ । कुनै प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त रहँदा थकानको महसुस हुनेछ । आफ्ना भावना र इच्छाहरूको कदर नभएको देख्दा घरिघरि मन अशान्त रहनसक्छ । भावनामा भौंतारिंदा वा मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ ।