वि.सं. २०७९ ज्येष्ठ ०६ गते शुक्रवार तदनुसार ई. सं. २०२२ मई २० तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (वछलागा), नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि, बेलुका १०:३० बजेसम्म, त्यसपछि षष्ठी तिथि, पूर्वाषाढा नक्षत्र, बिहान ०७:५७ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, दिउँसो ०१:३३ बजेसम्म, त्यसपछि मकर राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम सार्वजनिक भएमा पनि गौरवको आभास हुनसक्छ । प्रयत्न गर्दा महत्त्वपूणर् वस्तु हात पर्नसक्छ, सँगीसाथी र सहयोगीहरूको साथ पाउनाले हिम्मत बढ्ने तथा प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने समय छ । इच्छाशक्ति र लगनशीलता बढ्नाले हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । बारम्बार नकारात्मक धारणामात्र आइरहने समय हो । कसैको कुरामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । अहङ्कार, अडान र आडम्बर तपाईंका कमजोरी बन्नसक्छन्, त्यसैले सँगीसाथी, घरपरिवार र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । सुदूर र दुर्गम प्रदेशको भ्रमणको योजना बनाउने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापार/व्यवसायमा कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ । तर ससाना कुरामा पनि बहस र विवाद हुनसक्ने समय भएकाले भरिसक्य कम बोलेको जाती हुन्छ । परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सम्झौता वा करार गर्न अनुकूल समय छ, दैनिक कामबाट समेत फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नो काममा मात्र होइन, घरपरिवारलाई पनि केही समय छुट्याउनु राम्रो हुन्छ, नत्र आपसी विचारविमर्शमा खाडल सिर्जना हुनसक्छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । पेसागत र व्यवसायिक परिस्थिति हिजोअस्ति झैं नै सामान्य नै रहने देखिन्छ, तर स्वास्थ्यस्थितिमा भने उतारचढाव देखिनाले चिन्ता बढ्ने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पुराना सँगीसाथी वा आत्मीयजनहरूसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न गरिने समय हो, उता पारिवारिक माहौल र आर्थिक पक्ष सुदृढ देखिन्छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने समय छ, दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुने समय छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ । मौसमी रोगव्याधिको भय छ, तर धनबृद्धिका लागि गरिएका प्रयासहरू सफल हुनेछन् । नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक र परोपकारी काममा मन जानेछ । आज घरमा सम्पर्क गर्ने दिन हो, खासगरी दाजुभाइ र चेलीबेटीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । गज्जबले कमाउन सकिने र परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पटकपटक चिन्तन गर्नुपर्छ, कसैको उकसाहटमा काम गर्दा षड्यन्त्रको खाडलमा पर्न सकिन्छ । कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा लाभ मिल्ने समय छ । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आनन्द, रमझम र भ्रमणका लागि राम्रो दिन छ, तर भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुन्छ, नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला व्यहोर्नुपर्ने समय हो । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । हुनसक्छ, सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रूचिअनुसार व्यवहार गर्ने समय छ ।