मंसिर ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्त्व रहेको बताएकी छन् ।
आज एक सन्देश जारी गर्दै उनले निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आम निर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने उल्लेख गरेकी छन् ।
मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको भन्दै उनले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन सबैमा अनुरोध गरेकी छन् ।उनले सन्देशमा भनेकी छन्, “मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु,” राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, “यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु ।”
जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको उनले बताएकी छन् । “आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ ।”