फागुन ७, सुर्खेत । नेपालमा उच्च ओहदाका मानिसहरु हेलिकप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर,देशका भविष्य मानिने विद्यार्थीहरुका लागि एउटा कार्पेटसम्म हुँदैन त्यस्तै समस्या छ सुर्खेतको बराहताल गाउँपालिका –६ को जनजागरण प्राथमिक विद्यालयको ।

सोही बिद्यालयमा बराहताल –इखेनीकि छ वर्षिय हस्तना विक कक्षा एकमा पढ्छिन् । उनी इखेनी स्थित श्री जनजागरण प्राथमिक विद्यालयमा एक कक्षामा पढ्छिन् । उनको साथमा नत झोला छ नत न्यानो कपडा नै थिए । चिसोले कापिरहेकि थिएन् ।
त्यस्तै सोही ठाउँकै अर्का लोकेन्द्र बिकको पनि अवस्था उस्तै छ । उनीहरु दुइजना एक प्रतिनिधि पात्र मात्र हुन् । सोही विद्यालयमा अध्यनरत एकसय चार जना विद्यार्थीमध्ये अधिकांशको अवस्था उनी लोकेन्द्र र हस्तनाको जस्तै रहेको छ । भेरीको छेउमै रहेको यो विद्यालयमा यहाँका विद्यार्थी विभिन्न समस्या झेल्दै आएका छन् । यहाँका विद्यार्थीका लागि न्यानो लुगा कपडा र झोला त माथीको कुरा हो । उनीहरुसँग लगाउने जुत्ताचप्पल समेत छैनन् ।
२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको थियो । भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो । यातायात, विद्युत, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाएपनि विद्यालयको खानेपानी समस्या भने ज्युँका त्युँ रहेको छ । विद्यालयमा खानेपानी धारा बनाउन भनेपनि वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन सािति अध्यक्ष उज्वल कामी बताउँछन् ।
शिक्षक अपुग
श्री जनजागरण प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढाई हुन्छ । त्यसपछि थप अध्यनको लागि चेपाङ पुग्छन् । कक्षा पाँचसम्म अध्यन हुने गरेपनि शिक्षक अपुगका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजाली बताउँछन् ।
२०६५ सालमा स्थापना भएको श्री जनजागरण प्राथमिक विद्यालयमा दुइजना शिक्षकको दरबन्दी छ । एक पद रिक्त रहेको छ । स्थानीय शिक्षक राख्न विद्यालयसँग स्रोत छैन । विद्यालयमा हाल एकजना दरबन्दी, एकजना स्थानीय स्रोत, एकजना राहत, एकजना करार सहित पाँचजना मात्र शिक्षक रहेका छन् । विद्यालयमा शिक्षक अपुग मात्र नभएर खानेपानी, र शौचालयसम्मको अभाव रहेको छ ।
शौचालय र पानीको अभावले विद्यार्थीहरु जंगलतिर
विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरु जंगल दुगुर्नुपर्ने बाध्यता रहेको छ । विद्यालयका भवन पनि जिर्ण छन् । शौचालय पनि जिर्ण हुँदा विद्यार्थीहरु शौचालय नगएर जंगलतिर दुगुर्नुपर्ने बाध्यता रहेको शिक्षक नामजाली बताउँछन् । विद्यालयमा शौचालय र पानी नै हुँदैन,’उनले भने, ‘शौचालय पनि जिर्ण छ । विद्यार्थी जान डराउँछन् । जस्का कारण शौचको लागि जंगल जानुपर्ने बाध्यता छ ।’
चार वर्ष पुरानो च्यातिएका कार्पेटमा बस्छन् विद्यार्थी
२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबिको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्त रुपमा भौतिक पुर्वाधारको सामग्रिबाट बञ्चित रहेको छ । पर्याप्त रुपमा बस्ने डेस्क बेन्चहरु छैनन् । विद्यार्थीहरु चार वर्षअघिको च्यातिएर प्वाल परेको कार्पेटमा बस्नुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक नामजाली बताउँछन् । विद्यालयको स्रोतबाट विद्यालयमा शिक्षकसम्म छैनन्,’उनले भने, ‘बेन्ज डेस्क किनेर कसरी राख्नु । हाम्रा नेताज्युका कानमा कोले सुनाइदेला ‘तपाईलाई हेलिकप्टरबाट झर्दा रातो कार्पेट चाहिन्छ, यता देशको भविष्य पढ्नेबेला ओछ्उने कार्पेट नपाएर चिसो ठाउँमा बसेर पढ्छन् ।’
तीस प्रतिशत विद्यार्थी अभिभावकसँगै भारत जान्छन्
यहाँको विद्यालयमा इखेनी बस्तीका एकसय चार जना विद्यार्थी अध्यनरत छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण यहाँका ३० प्रतिशत बालवालिका भारत जाने गरेको शिक्षक नामजाली बताउँछन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकसँगै भारत जाने गर्छन,’उनले भने, ‘एकसय चारजना मध्य ८५ जना मात्र विद्यालयमा उपस्थित हुन्छन् । छ महिना घरदेश छ महिना परदेश जाने क्रम चलिनै रहन्छ ।’