माघ ५, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँणबीच आन्दोलित एमबीबीएस विद्यार्थीको विषयमा छलफल भएको छ । बुधबार साँझ दुई मन्त्रीबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरूमाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको हो ।

पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने विषयमा छलफल भएको छ ।
शिक्षा मन्त्रालय विद्यार्थीको पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयले आवश्यक सहरीकरण गरिदिन मन्त्री पौडेलले आग्रह गर्दै भन्नुभयो, ‘पटक पटक विद्यार्थीको गुनासो सुन्न मेडिकल कलेजमा पुगेको छु । केही दिनअघि गरेको निर्णय कार्यान्वयन भएन थप एक्सन लिन पर्यो ।’
छलफलमा गृहमन्त्री खाँणले विद्यार्थीको पक्षमा रहेको भन्दै तत्काल काठमाडौँ, भक्तपुर र मोरङ जिल्लाका सिडिओ मार्फत त्यहाँको यार्थत स्थिति बुझेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।