असोज २, काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा नेपालको कार्बन उत्सर्जन कम हुने भन्दै विज्ञ समूहले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।
सरकारले गत साउनमा गठन गरेको वीरेन्द्रबहादुर देउजा नेतृत्वको विज्ञ समितिले आइतबार बिहान प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।प्रतिवेदन बुझाउँदा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठ पनि बालुवाटारमा उपस्थित थिए ।
सर्वोच्च अदालतको परमादेशपछि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयबाट देउजा नेतृत्वमा विज्ञ समूह गठन भएको थियो । विज्ञ समूहले नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।
पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको समूहको निष्कर्ष छ ।