वि.सं. २०७९ आषाढ ०४ गते शनिवार तदनुसार ई. सं. २०२२ जुन १८ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, आषाढ कृष्णपक्ष (तछलागा) चतुर्थी/चौथी तिथि, बिहान ०८:०१ बजेसम्म, त्यसपछि पञ्चमी तिथि,श्रवण नक्षत्र, दिउँसो ०१:०२ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि १२:२४ बजेसम्म, त्यसपछि कुम्भ राशिमा 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, तर अरुको आश नगरी आफ्नो काममा आफैं तन्मय भएर लागिपर्नु उचित हुन्छ । उच्चपदस्थ र महत्त्वपूणर् व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आपसी सम्बन्ध भावी जीवनका लागि सुखद बन्ने सङ्केत छ, सँगै बसेर भविष्यको कल्पनामा छलफल गर्न सकिन्छ । प्रतिकूल परिस्थिति भए पनि अचानक अनुभवी र जानकार व्यक्तिको सहयोग मिल्नेछ र समस्या समाधान गर्न मद्दत पुग्नेछ । इष्टमित्र र आफन्तसँग भेटघाट र उठबस हुनसक्ने समय हो । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु ठीक हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रूचि बढ्नसक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्ने दिन हो । अहङ्कार, अडान र आडम्बर कमजोरी बन्नसक्छन्, त्यसैले तिनलाई त्यागेर आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यक्षेत्रमा सफलता मिल्नेछ, तथापि पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनुपर्ने हुन्छ । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ । हतारमा लिएको निणर्य गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नहुनसक्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । जिद्दीपन र घमण्ड बढ्नेछ, शिक्षादीक्षा र ज्ञानगुनका क्षेत्रमा लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । प्रयास गरेको कुनै पनि साधनाले पूणर्ता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ, दैनिक कामबाट समेत फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिबन्द र बाध्यतामा खुम्चनुपर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । सन्तान वा भाइबहिनीको करियर सम्बन्धी कुनै समस्या आइपरेमा विशेष व्यक्तिबाट उचित सल्लाह र सहयोग मिल्नेछ, जसबाट तपाईको तनाव पनि हट्नसक्छ । युवाहरू आफ्नो करियरमा केन्द्रित हुनेछन् । हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कुनै कोर्स अधुरो छ वा कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गर्नुस्, अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने समय छ, दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । अल्छी गरेर बस्ने हुँदा व्यक्तित्वमा आँच आउने वा भविष्यमा धोका हुनसक्ने दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, तथापि मस्तिष्क अत्यन्त क्रियाशील रहने दिन हो । कुनै उपहार वा धन प्राप्त हुने सम्भावना छ । सिनियर कर्मचारी वा हाकिम प्रसन्न हुने दिन हो । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आपसी भेटघाट र मेलमिलापको समय हो, आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी भलाकुसारी गरेको राम्रो हुन्छ । तर आज मुखमा दुर्वाच्य र कटु शब्द आउन दिनुहुँदैन । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनुपर्ने हुन्छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वातावरण तनावपूणर् र व्यस्त रहेको परिस्थिति छ, अहिलेको केही समय आफ्नो सुस्वास्थ्य र आरामका लागि छुट्याउनु पर्छ । यसबाट व्यक्तित्वलाई निखार्न र मनोबल बढाउन मद्दत पुग्नेछ । सकेसम्म कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय छ । असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना हुन्छ । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनुपर्ने हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा लाभ मिल्ने समय छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ ।