वि.सं. २०७८ चैत्र ०३ गते बिहीवार तदनुसार ई. सं. २०२२ मार्च १७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व),नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०६:१२ बजे, फाल्गुन शुक्लपक्षको चतुर्दशी तिथि, दिउँसो ०१:३२ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, पूर्वाफाल्गुनी नक्षत्र, मध्यरात्रीपछि १२:५७ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । मुखमा माता सरस्वतीको निवास छ, सद्विचारबाट प्रेरित भएर काम गर्नुपर्छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ, आँटेको काम सजिलै सम्पादन हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । केही असहजता वा बाधा आइलाग्न सक्छन्, तर प्रेमभावमा भएको पवित्रता र सद्भावले सबै बाधा दूर हुनेछन् । धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङ नै व्यवसाय हुनेले राम्रो फाइदा गर्न सक्नुहुन्छ । परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले सबैलाई आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । प्रेम सम्बन्ध थप प्रगाढ बन्ने दिन हो । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानीमा लगातार बृद्धि भइरहँदा आफ्नो सुखसुविधामा पनि केही धनरकम खर्च गर्न सक्नुहुन्छ, तर यी खर्चको प्रभाव तपाईको जीवनमा देखिने छैन, तथापि अहिले आय र व्ययको सन्तुलन कायम राख्ने प्रयास गर्नुपर्छ । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ । सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । अचानक आम्दानी हुने दिन हो । सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन भोगविलास र रमझमप्रति आकर्षित बन्नसक्छ, घरपरिवारमा सम्पर्क हुने र पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा सामीप्य बढ्ने समय छ, उता काममा पनि निर्णय क्षमताको प्रशंसा हुनेछ । गज्जबले कमाउन सकिने र परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, जग्गाजमिन, माटो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । असाध्यै गतिलो दिन छ, किनकि आज तपाईंको घरमा शुभताले प्रवेश गर्नेछ । हरेक क्रियाकलापमा परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन पनि प्रसन्न रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक क्रियाकलापमा निकै सतर्कता अपनाउनु पर्ने समय छ । अझ नयाँ लगानी वा लेनदेन हो भने सोचेर कदम चाल्नु ठीक हुन्छ । बटुवा, गल्ला र सेफको सुरक्षामा ध्यान दिने समय हो । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । पढाइमा होइन, ध्यान अन्तै केन्द्रित हुनसक्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दुबिधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ, हिसाबकिताब नै तपाईंको काम हो भने सजगता अपनाउनु पर्छ, सेवाग्रहीसँग नम्र बोलीको प्रयोग गर्नुहोला । कार्यक्षेत्र र लवलाइफ दुबै क्षेत्रमा सफलता र आनन्द पाउने समय छ । पार्टनरलाई कुनै उपहार दिएमा आपसी सम्बन्ध र विश्वासमा अझ प्रगाढता छाउने छ । सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सानातिना कामका लागि समेत मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । मातापिता र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा नबन्ने काम पनि सम्पन्न हुनसक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला । आजको कामले भविष्य सुध्रनुका साथै ठोस आम्दानी समेत हासिल हुनेछ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धी प्रदान गर्नेछ, जुनसुकै काममा शुभचिन्तकहरूको साथ पाउने दिन हो । आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेमीप्रेमिकाका बीचमा तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा कमजोरी देखिने र चिन्ता/शङ्का बढ्ने दिन छ । खर्चको मात्रामा बृद्धि हुनेछ । गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लगाउनु बेस हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजमा राम्रो मुनाफा हुनसक्छ, तर मन भारी हुने तथा शरीरमा आलस्य जाग्ने समय हो । अस्वस्थ हुनुहुन्छ भने आराम गर्नु राम्रो हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । ठूलाबडालाई खुसी तुल्याएर फाइदा बटुल्ने दिन हो, कार्यक्षेत्रमा प्रशंसा मिल्नुका साथै आम्दानीको मार्गमा पनि बृद्धि गर्न सकिने छ । कलात्मक कार्य (अभिनय, गायन , वादन , नृत्य, भिडियो वा चलचित्रसम्बद्ध काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा मनोरञ्जनका सामाग्री र वैवाहिक परामर्शको व्यवसाय छ भने विशेष लाभ पाउने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति देखिन्छ, काम विशेषले कुनै गर्जो टार्न ऋण काढ्नुपर्ने वा सरसापटीबाट काम चलाउनुपर्ने हुन्छ । स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो ।