कार्तिक ३०, सुनसरी। एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा चनाखो रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । आज सुनसरीको दुहबीमा आयोजित आमसभामा ओलीले मतपेटिकाबाट कुनै पनि यताउता हुन नदिन निर्देशन दिएका हुन् ।उनले भने, “म एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, तपाईंहरू आफ्नो आँखाबाट बाकसलाई एकछिन पनि यताउता हुन नदिनुहोस् । एउटा आँखा झिम्कियो भने अर्को खुला राख्नुहोस्, अर्को झिम्कियो भने अर्को खुला राख्नुहोस् । तर, बाकस एकछिन पनि नदेखिनु हुँदैन ।”
त्यस्तै अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका छन् । अध्यक्ष ओलीले भने, ‘अहिले नागरिकताको खुव चर्चा गरेका छन् । मैले भनेको छु, नागरिकताको तमासा नगर, गर्नैपर्दैन ।’ उनले मंसिर ४ पछि एमालेको सरकार बनेपछि सम्पूर्ण नेपाली जनतालाई नागरिकता दिने अभियान सुरु गरिने बताए ।
‘जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइनेछ’, ओलीको भनाइ छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताए ।