कार्तिक ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले ४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजिएको बताएका छन् ।
हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको थियो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ ।
लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरी पर्नु ठूलो विषय नरहेको र पत्र प्राप्त गरेपछि यसको जवाफ दिने बताएका छन् । उनले भनेका छन् , ‘४ वर्ष अगाडि नै सुल्झिएको विषय उठाएर चुनावको मुखमा फण्डा गरिएको छ तर विचलित छैन ।’ सामाजिक सञ्जालमा उनले प्रश्न गर्दै भनेका छन् , ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौंडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भइ सेटल भसकेपछि फेरि कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?’