वि.सं. २०७९ श्रावण ३१ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ अगस्ट १६ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, चन्द्रास्त : बिहान ०९:१५ बजे र चन्द्रोदय : बेलुका ०९:३५ बजे, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:४० बजे, भाद्रपद कृष्णपक्ष (गुँलागा) पञ्चमी तिथि, मध्यरात्रीपछि १२:०९ बजेसम्म, त्यसपछि षष्ठी तिथि, रेवती नक्षत्र, मध्यरात्रीपछि ०१:४७ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, मध्यरात्रीपछि ०१:४७ बजेसम्म, त्यसपछि मेष राशिमा
आजकाे राशिफल:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
उन्नतिपथमा देखापर्ने हरेक समस्याको सामना गरेर एउटा छुट्टै पहिचान कायम राख्न सफलता पाउने दिन हो, तर निराशा र खिन्नताबाट टाढा रहने प्रयत्न गर्नुपर्छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
वाहनसुखको योग छ वा महत्त्वपूणर् भ्रमणको सङ्केत छ । घरबाट कुनै शुभ वा माङ्गलिक कर्म गर्नेबारेमा सन्देश पाउन सक्नुहुन्छ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । चुनौती र सङ्घर्षका माझमा आफूलाई प्रतिष्ठित तुल्याउने परिस्थिति छ, तर शारीरिक कमजोरी र मानसिक खिन्नता बढ्नाले लक्ष्यप्रति भ्रमित बन्न सक्नुहुन्छ । नयाँ लगानी गर्नुहुँदैन, त्यस्तै सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म चाँडो समाधान गर्नुपर्ने दिन हो । नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूणर्रूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा पनि लिन सकिन्छ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । इच्छा पूरा हुने दिन हो । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रकृतिमा समय बिताउँदा छटपटी र निराशा हट्नेछ । आफन्तको चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, तर धनसम्पत्ति र सुखसुविधा साधनमात्र हुन् । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । स्वास्थ्यगत कमजोरीले रोमान्टिक जीवन प्रभावित बन्नसक्छ, तर पनि आत्मबल कायम रहनाले मन प्रसन्न रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । अरुको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ, पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला, त्यस्तै गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पुरानो समस्या वा कारबाहीप्रति ध्यान केन्द्रित हुनसक्छ । कुनै नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा सबै समस्या हल गर्न सकिने छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । कुनैकुनै काम सँगीसाथी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ । कुनै भौतिक उपकरणको खरिद गर्न सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रूचि र इच्छा अनुसार समय बिते पनि कुनै व्यवहारिक कारणले पतिपत्नीमा विचार नमिल्नसक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने दिन हो । आफ्नो रूचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । आफ्ना सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने समय आएको छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत हुने दिन हो ।