वि.सं. २०७९ आषाढ ३२ गते शनिवार तदनुसार ई. सं. २०२२ जुलाई १६ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, श्रावण कृष्णपक्ष (दिल्लागा) तृतीया तिथि, साँझ ०५:३२ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, धनिष्ठा नक्षत्र, बेलुका ०७:५२ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, बिहान ०८:२८ बजेसम्म, त्यसपछि कुम्भ राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज गरेको परिश्रम र अध्ययनप्रतिको समर्पण भावले तपाईंको भावी जीवन र भविष्य निर्धारण हुने लक्षण छ । घरको जीणर्ोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अड्किएको वा फँसेको धन हात पर्नसक्छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै त हुँदैन, तर पनि पारिवारिक सम्बन्ध निरस देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला । नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, डिजिटल माध्यमबाट जनसम्पर्कको दायरा बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यालयमा स्टाफहरूका माझमा समन्वयको कमी छ भने बरु वैठक राखेर सुलह गर्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने र प्रशासनिक समस्या उत्पन्न हुने खतरा छ । प्रेमीप्रेमिकाका बीचमा तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा कमजोरी देखिने र चिन्ता/शङ्का बढ्ने दिन छ । सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कलात्मक कार्य (अभिनय, गायन/वादन, नृत्य, भिडियो/च चित्तको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । इच्छा पूरा हुने दिन हो । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने समय हो । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ, नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ । आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ । शारीरिक थकान र बेचैनीको समय हो, अरुको समस्यामा चिन्ता गर्ने हुँदासमेत तनावमा बृद्धि हुनसक्छ । हरेक काममा सहनशक्ति बलियो बनाउनु पर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने समय छ । समस्या र कठिनाइमा समय यापन गर्नुपर्ने दिन छ । बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउने प्रयास गरिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । आफन्तबाट अनुकूल व्यवहारको आशा गर्न सकिन्छ, नयाँ र नौला व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । शरीर स्वस्थ रहनुका साथै चिन्तामा कमी आउने छ, तथापि कुनै पनि काममा हतार र शीघ्रता गर्नु हुँदैन । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्ने समय हो । पुरानो समस्या वा कारबाहीप्रति ध्यान केन्द्रित हुनसक्छ । कुनै नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा सबै समस्या हल गर्न सकिने छ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दैनिक र व्यवहारिक खर्चको मात्रा बढ्नेछ । कुनै गुप्त कारोबारका क्रममा हानि व्यहोर्नुपर्ने समय छ, सचेत भएर काम गर्नुपर्ने दिन हो । वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ । बोली र व्यवहारमा नम्रता हुनु जरुरी छ, तर अचानक नचिताएको धन हातमा आइपुग्न सक्छ । शरीरमा विशेष ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रु र प्रतिस्पर्द्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनसम्पत्तिको लाभ हुनेछ । आम्दानीका मार्गहरू बढ्नेछन् र कुनै सरकारी वा राजनैतिक काम गर्न अनुकूल समय छ । तामा र रातो चिजबीजसँग सम्बद्ध कारोबारीले सफलता पाउने दिन हो । रूचि र इच्छा अनुसार समय बिते पनि कुनै व्यवहारिक कारणले पतिपत्नीमा विचार नमिल्नसक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिस्थिति र बाध्यताका काममा रुमल्लिनुपर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्नसक्छ, तर वैदेशिक प्रयोजनको काम अथवा दूरदराजमा रहेको सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय छ । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । छलछाम र हेलचक्र्याइँ नगर्नुहोला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।