असार १, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) प्रस्तावबारे सरकारसँग जवाफ माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद् थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी हुन नसक्ने दाबी गर्दै एसपीपी प्रस्तावबारे प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिन सभामुखसँग माग गरेका हुन् । ‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा नेपाल सहभागी हुन पाउँदैन र सक्दैन’, उनले भने, ‘नेपाली कांग्रेस र नेपाल यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन। प्रधानमन्त्रीले आजैको संसद्मा आएर जवाफ दिन सभामुखसँग माग गर्दछु।’