असार ३०, काठमाडौं । अपाङ्गता महासङ्घले राष्ट्रिय महिला आयोगलाई अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसाको न्युनिकरणको लागि १४ बुँदे ध्यानाकर्षणपत्र दिइएको छ ।अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपालले आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीलाई अपाङ्गता भएका महिलामध्ये पनि दृष्टिविहीन, बहिरा, अटिजमलगायतका बहुअपाङ्गता भएका महिलाले यौन तथा घरेलु हिंसामा बढि परिरहेका छन् भन्दै ध्यानाकर्षण हस्तान्तरण गरिएको हो ।

महासङ्घको ध्यानाकर्षणपत्रमा सरकारले हिंसाबाट पीडित महिलाको लागि सञ्चालन गरेको लैङ्गिक हिंसा निवारण कोषको लाभ अपाङ्गता भएका महिलाले लिन नपाएको, हिंसा परेका अपाङ्गता भएका महिलाका लागि पुनस्थार्पना केन्द्रको अभाव रहेको, अपाङ्गता भएकै कारण हिंसामा परेपछि हदम्यादभित्र उजुरी हाल्न नसक्नुलगायतका कुरा समस्या समेटिएको छ ।
त्यसैगरी भौतिक संरचना अपाङ्गतामैत्री नहुनु, हिंसा सम्वन्धी मुद्दामा बन्द इजलास भनिएपनि गोपनियता नहुनु, पीडितको पक्षमा फैसला भइहाले पनि क्षतिपूर्ति दिलाउन समस्या हुने र अपाङ्गता भएका महिलामाथि यौन हिंसा भएमा उजुरीका लागि हदम्याद तोक्न नहुने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
बहिरा दृष्टिविहीन अभिभावकसङ्घका अध्यक्ष ल्हाक्पा नुरू शेर्पाले कान पनि नसुन्ने र आँखा पनि नदेख्ने समस्या रहेका अपाङ्गता भएका व्यक्तिका अभिभावकले नै घरभित्र बन्द गरेर राखेर उनीहरूको मानवअधिकार हनन भएकाले सो को आयोगले अनुगमन आयोगल गर्नु पर्ने बताए ।