फागुन २, काठमाडौँ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु गरिएको हो ।प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार उपकुलपति जगमान गुरुङ, सदस्य सचिव जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्त, योगेन्द्रप्रसाद लगायतको सहभागितामा पुस्तक प्रदर्शनीको उद्घाटन गरे ।

कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका अवसर पारेर आयोजना गरिएको पुस्तक प्रदर्शनी कोभिड महामारीका कारण स्थगित गरिएको भएपनि प्रजातन्त्र दिवसका अवसर पारेर पुनस् प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, ‘प्रज्ञा प्रतिष्ठानले अबदेखि वर्षभरि नै पुस्तक प्रदर्शनी गर्ने योजना बनाइरहेको छ । उपयुक्त स्थानको व्यवस्था गरेर हामी उक्त योजनालाई चाँडै मूर्त रूप दिने तयारी गरिरहेका छौँ ।’ उनका अनुसार पाठकहरूको मागलाई आत्मसात गरेर पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो । यसबाट आमपाठकले पर्याप्त लाभ लिन सक्ने उनको विश्वास छ ।
प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्नेछ ।