फागुन १, काठमाडौं । उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो ।

त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।
‘अन्तरिम आदेशको टुंगो नलाग्दासम्म मिति २०७६र १र३ को करार सम्झौताबमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू नगराउनू भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरि आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ ।
सम्झौताविपरीत सञ्चालन गरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरिएको थियो ।