• २०८२ साउन ३ गते शुक्रवार

मनकामना माताको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७९ आश्विन २६ गते बुधवार तदनुसार ई. सं. २०२२ अक्टोबर १२ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे, चन्द्रास्त : बिहान ०७:४३ बजे र चन्द्रोदय : बेलुका ०७:२० बजे, कार्तिक कृष्णपक्ष (कौलागा) तृतीया तिथि, मध्यरात्रीपछि ०२:०७ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, भरिणी नक्षत्र, बेलुका ०६:२७ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, मध्यरात्रीपछि १२:४५ बजेसम्म, त्यसपछि बृष राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम जोखिमपूणर् देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । साथीभाइ, संघसङ्गठन, राजनैतिक क्षेत्र वा प्रशासनिक कामकाजमा झुकाव बढ्ने वा सहभागी बन्नुपर्ने समय हो । बाहिर अलमलिनाले कार्यक्षेत्रमा असर पर्नसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश/विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन । आज आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निणर्य फलदायी हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला । भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । प्रेमीप्रेमिकाका बीचमा तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा कमजोरी देखिने र चिन्ता/शङ्का बढ्ने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ । आज कुनै पुस्तकविशेष वा लेखरचना प्रतिको आकर्षण समेत देख्न पाइने छ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु/दिदी वा गुरु/गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । बोलीमा सामर्थ्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस