• २०८३ जेष्ठ ६ गते बुधवार

गणेश भगवानको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७९ आश्विन २५ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ अक्टोबर ११ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:३८ बजे, चन्द्रास्त : बिहान ०६:५६ बजे र चन्द्रोदय : साँझ ०६:३३ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) द्वितीया तिथि, मध्यरात्रीपछि ०१:४२ बजेसम्म, त्यसपछि तृतीया तिथि,अश्विनी नक्षत्र, साँझ ०५:३७ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मोटो धनमाल हातपार्ने समय हो, इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । नयाँ व्यवसाय वा रोजगारीका बारेमा चिन्तन गर्न सकिने छ । मिहिनेत गरेर बिग्रँदो आयस्रोतलाई उकास्न प्रयास गर्ने समय छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम सार्वजनिक भएमा पनि गौरवको आभास हुनसक्छ । सिर्जनात्मक काम गर्नाले धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । धर्म/अध्यात्म र परोपकारी कामतर्फ मन आकर्षित बन्नसक्छ । हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो, घरपरिवारमा सम्पर्क राखी खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ । छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ । कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ । तर ससाना कुरामा पनि बहस र विवाद हुनसक्ने समय भएकाले भरिसक्य कम बोलेको जाती हुन्छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ । परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । ससाना कुरा र विषयमा झैझगडां र विवाद हुने लक्षण छ, त्यसैले तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा/अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।

Sharing

प्रतिक्रिया दिनुहोस