वि.सं. २०७९ भाद्र २६ गते आइतवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर ११ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०६:१३ बजे, चन्द्रास्त : बिहान ०६:१८ बजे र चन्द्रोदय : साँझ ०६:४० बजे, आश्विन कृष्णपक्ष (ञलागा) प्रतिपदा तिथि, दिउँसो ०२:१८ बजेसम्म, त्यसपछि द्वितीया तिथि, पूर्वाभाद्रा नक्षत्र, बिहान ०९:५७ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने परिस्थिति देखिन्छ । कारोबारमा लगानी बढाउनुपर्ने समय हो, तर बजेट बढे पनि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरेको परिश्रम र अध्ययनप्रतिको समर्पण भावले तपाईंको भावी जीवन र भविष्य निर्धारण हुने लक्षण छ । लाभमूलक काममा दिलचस्पी जाग्नेछ, व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भेटघाटको समयमा व्यक्तिगत उन्नति/प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । लक्ष्य र योजनाप्रति विश्वास र उत्साह जाग्ने दिन हो, प्रतिष्ठित वा लोकप्रिय व्यक्तित्वसँग भेटघाट हुने वा उनको जीवनबाट प्रेरित भएर काम गर्ने समय छ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अर्काको सहयोग गर्न पाउँदा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, कुनै नजानेको जटिल समस्या छ भने प्रयास गर्नुहोला । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढ्नु ठीक हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मानसिक संवेगको उतारचढावले लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलो हुनसक्छ । शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ, तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ, कुनै लटरी वा चिट्ठा नै पनि पर्नसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । कलात्मक विषयवस्तुमा आकर्षण बढ्नेछ । आफैं पनि गीतसङ्गीत, चित्रकला, फोटोग्राफी वा कुनै कलाप्रति झुकाव राख्नुहुन्छ भने राम्रो गर्ने समय हो । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूणर् घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ज्ञानगुन, शिक्षादीक्षा एवं धार्मिक/आध्यात्मिक विषयवस्तु प्रतिको आकर्षण बढ्ने दिन हो, शैक्षिक क्षेत्रमा हो भने राम्रो प्रतिफलसमेत हात पर्नेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने दिन हो, भावना र इच्छाहरूको कदर हुने समय छ । नयाँ अनुभव वा ज्ञानप्राप्तिका लागि राम्रो दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । दाम्पत्य जीवन सुखद रहनेछ र घरमा पनि सुखशान्ति र सम्मृद्धि छाउने समय हो । आज व्यवहार गर्दा बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुपर्छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा/अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, तथापि मस्तिष्क अत्यन्त क्रियाशील रहने दिन हो । धन बढाउन गरिएको प्रयास सफल हुनेछ वा ऋण उठाउने वा फँसेको धन उकास्ने समय छ । मुखका माध्यमबाट पनि कुनै अवसर फुत्काउन सक्नुहुन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ, किनभने आज आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो ।