जेठ २७, काठमाडौं । सरकारले २५ स्थानका अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ । जेठ ११ मा बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

जसअन्तर्गत् डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हडताल गर्न पाइनेछैन । यस्तै, हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइनेछैन ।
खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा,पेट्रोलियम पदार्थ (एल.पी) ग्याँस समेतको पैठारी, ढुवानी,भण्डारण तथा वितरण सम्बन्धी सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ ।
अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरु),औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवामा पनि हड्ताल गर्न पाइने छैन ।
मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा,मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा,भेटेरिनरी सेवा,कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवामा पनि हड्ताल गर्न नपाइने राजपत्रमा उल्लेख छ ।