• २०८३ जेष्ठ १९ गते मङ्गलवार

हलेसी महादेवको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७८ फाल्गुन २६ गते बिहीवार तदनुसार ई. सं. २०२२ मार्च १० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०६:०८ बजे, फाल्गुन शुक्लपक्षको अष्टमी तिथि, मध्यरात्रीपछि ०५:०३ बजेसम्म, त्यसपछि नवमी तिथि, रोहिणी नक्षत्र, दिउँसो ११:३२ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, मध्यरात्रीपछि १२:५१ बजेसम्म, त्यसपछि मिथुन राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परीक्षा वा प्रतियोगिताका लागि तैयारी गर्न अनुकूल दिन रहेको छ । नयाँ व्यवसाय वा रोजगारीको प्रयास गर्दै हुनुहुन्छ भने आशावादी बन्ने दिन हो । आश मारेको सम्पत्ति फिर्ता आउने समय हो । आर्थिक हैसियत बृद्धि गर्न वा भौतिक सम्मृद्धि बढाउने सिलसिलामा सक्रियता देखाएमा भविष्य सुध्रने सङ्केत छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भनेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, साथै आफ्नो रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने समय हो । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकसिम्क रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ । मनोमालिन्य बढ्ने समय पनि हो । परिस्थितिलाई बुझेर चल्नुपर्ने दिन हो । पठनपाठनप्रति ध्यान केन्द्रित हुनेछैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले तपाईंले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित भएको जाति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा लाभ मिल्ने दिन हो । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदान/प्रदान गर्ने दिन हो, उता कार्यक्षेत्रमा पनि सँगीसाथीका बीचमा सहकार्य र रामरमाइलो गर्ने अवसर मिल्नेछ । बढ्दै गरेको पारिवारिक खर्चले थप मिहिनेत गर्न हौसला प्रदान गर्नेछ । कुनै ठोस काम अघि बढाउनु छ भने मातापिता वा सिनियर साथीहरूको सहमतिमा गर्नु जायज हुन्छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाग्यले साथ दिने समय छ, आज गरेको सानो प्रयत्नले ठूलो काम बनाउन सक्नुहुन्छ । मन धार्मिक र दार्शनिक क्रियाकलापमा आकर्षित बन्नसक्छ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कार्यालयमा स्टाफहरूका माझमा समन्वयको कमी छ भने बरु वैठक राखेर सुलह गर्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने र प्रशासनिक समस्या उत्पन्न हुने खतरा हुन्छ । स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलो हुनसक्छ । पुरुष जातकले ससुराली पक्षमा र स्त्री जातकले माइतीपक्षमा सम्पर्क गर्ने वा परिआएको काममा सघाउने परिस्थिति देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । मन रमणीयता र भावुकतातर्फ आकर्षित बन्ने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर देखिन्छ । कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर आज जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जिद्दीपन बढ्ने दिन हो, पठनपाठनमा पनि चुनौतीको सामना गर्नुपर्छ, धैर्य भएर आफ्नो काममा तल्लीन हुनु ठीक हुन्छ । शरीरमा ऊर्जा र जाँगर पलाउने समय हो, दिनभरि काममा एक्लै खट्नु पर्छ, तर शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहनु ठीक हुन्छ । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति रहेको छ । काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । घरमा सम्पर्क राखी भाइबहिनी वा छोरा/छोरीको उन्नति, प्रगति वा आचरणसम्बन्धी कुरामा चिन्ता गर्नु राम्रो हुन्छ । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । घरपरिवारका कुरा खेल्दा मन एकतमासको बन्नसक्छ । कार्यक्षेत्रमा खप्की खानुपर्ने परिस्थिति आउन सक्छ, सचेत भएर चल्नुपर्ने समय हो । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका सामाग्री र भोगविलासका क्षेत्रबाट बढी फाइदा लिन सकिने छ, तर आज थोरै समय घरपरिवारमा खर्च गरेको जाति हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कुनै कोर्स अधुरो छ वा कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गर्नुस्, अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै व्यक्तित्व विकास गर्ने समय छ । कुनै पुराना समस्या वा प्रशासनिक झमेला छन् भने हल गर्ने प्रयास गर्नुहोला । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस