• २०८३ बैशाख १८ गते शुक्रवार

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।

एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको हो । ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच, मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।

त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए ।

यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस