वि.सं. २०७८ चैत्र २५ गते शुक्रवार तदनुसार ई. सं. २०२२ अप्रिल ०८ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४३, (चौलाथ्व), नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:२५ बजे, चैत्र शुक्लपक्षको सप्तमी तिथि, बेलुका ०९:०३ बजेसम्म, त्यसपछि अष्टमी तिथि, आर्द्रा नक्षत्र, मध्यरात्रीपूर्व १२:०० बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
के कुराले आफूलाई सहज हुन्छ त्यो कुरा पहिल्याई कार्य गर्नसके मनमा तनाव हुनेछैन, पारिवारिक वातावरण सुखमय रहनेछ । नयाँ मित्रको सङ्गतले ज्ञान बढाउने समय हो । सामाजिक सम्बन्ध सुदृढ बनाउने समय छ, दानपुण्य र परोपकारमा मन जानसक्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउन सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरपरिवारका सदस्य वा जीवनसाथीको कुनै व्यवहारले आज एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । मौखिक अभिव्यक्ति, साहित्य, कला र मनोरञ्जनसँग सम्बन्धित विषयको ज्ञानप्राप्तिका लागि राम्रो समय देखिन्छ । पछिसम्म फाइदा हुने काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । बलियो आत्मविश्वास भएकाले कतै लगानी गर्ने योजना छ भने तुरुन्तै कार्यान्वयन गर्नु ठीक हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
वरिष्ठ कर्मचारीको सद्भाव प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्ने दिन हो । प्रयास गरेमा तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर हात पार्न सकिने छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाति हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । मनमा चिन्ता, शङ्का र भ्रमले डेरा जमाउने समय छ, चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ, सचेत हुनुपर्ने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कारोबारमा राम्रै फड्को मार्ने समय छ, थोरै प्रयास गर्दासमेत राम्रो उपलब्धि हात पर्नसक्छ । लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढी रहने समय हो । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उन्नतिपथमा देखापर्ने हरेक समस्याको सामना गरेर एउटा छुट्टै पहिचान कायम राख्न सफलता पाउने दिन हो, तर निराशा र खिन्नताबाट टाढा रहने प्रयत्न गर्नुका साथै आफ्नो काममा ध्यानकेन्द्रित गर्नु जरुरी देखिन्छ । दुबिधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ, हिसाबकिताब नै तपाईंको काम हो भने सजगता अपनाउनु पर्छ, सेवाग्रहीसँग नम्र बोलीको प्रयोग गर्नुहोला । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रयत्न गर्दा कार्यक्षेत्रमा उन्नतिप्रगति हुने वा विशेष जिम्मेवारी पाउन सकिन्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने छ । केही समय आफ्नो व्यक्तिगत प्रयोजनमा छुट्याउनुपर्ने हुन्छ, तर कार्यक्षेत्रमा व्यस्त रहँदा आन्तरिक सम्बन्धमा फाटो बढ्नसक्छ, होस राख्नुपर्छ । आत्मविश्वासमा अभिबृद्धि हुनाले साहसी र निडर भइने छ । अन्यायका विरुद्धमा जुझारु बन्न सक्नुहुन्छ । शत्रु र प्रतिस्पर्द्धीलाई दमन गर्ने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनुपर्ने हुन्छ । कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । उत्साहमा बृद्धि हुने कुनै समाचार सुन्न पाइनेछ, कुनै ठूलै योजना कार्यान्वयनको तैयारी हुनेछ, दिनदु:खी र बृद्धबृद्धाको सहयोग गर्दा भाग्य बढ्ने समय छ, त्यसैले कुनै पनि धार्मिक/पारम्परिक क्रियाकलापमा सहभागी भएको जाति हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ, तर मनको कुरो साथीले नबुझिदिंदा वैचारिक मतभेद हुनसक्छ । गरेका प्रत्येक काममा असफलता वा बाधा व्यहोर्ने दिन हो, त्यस्तै आज मनमा टुसाएको भ्रमले भयङ्कर मनोविकृतिलाई निम्त्याउन सक्छ, होस राख्नुपर्छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पटकपटक प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग सम्बन्धमा धमिलोपना आउने छ, सहयोग आदान/प्रदान र व्यवहार धान्नसमेत मुस्किल पर्नसक्छ । व्यापारिक दृष्टिकोणले राम्रो समय छ । गरेको मिहिनेतले सार्थक परिणाम प्रदान गर्नेछ । प्रभाव र प्रभुत्व बढ्ने समय छ, तर रिस, आवेग र शीघ्रतामाथि बन्देज लगाउनु बेस हुन्छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रूचि जाग्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
किताबी विषयमा भन्दा पनि अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर आज प्याच्चै बोल्ने बानीले कलह र विवाद निम्त्याउन सक्छ । स्वास्थ्य सबल देखिन्छ, शारीरिक थकान र मानसिक कमजोरीबाट जोगिन यो हप्ता मरमसला, चिल्लोचापिल्लो र बोसोयुक्त खानेकुराबाट टाढा रहनु तथा ताजा फलफूल र हरियो सागसब्जीको सेवन गर्नु उपयोगी हुनेछ । स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने प्रयास गर्नोस्, सफलताको जडी सूत्र पत्ता लाग्ने दिन हो । कडा परिश्रम जारी राख्दा कुनै महत्त्वपूर्ण उपलब्धीको बाटो खुल्ने समय छ, यतिवेला आफूलाई उर्जाले भरिएको महसुस गर्नुहुनेछ । अहिले आफ्नो क्षमता र सामर्थ्यले अरुलाई प्रभावित बनाउन सकिने छ । पढाइ वा तालिमका सिलसिलामा कार्यालयबाहिर जानुपर्ने हुन्छ । प्रयत्न गरेमा देश/विदेशको यात्राको अवसर पनि मिल्नसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गरेका प्रयासमा असफल हुन सकिन्छ । दबाब र मानसिक तनाव बढ्ने दिन हो । हाकिम वा उच्चपदस्थ अधिकृतसँगको सम्बन्ध कमजोर बन्नसक्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री, हातहतियार, निर्माणसामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । सजावटका सामान, भाँडाकुडा वा कुनै घरायसी बन्दोबस्तीका चिजबीज खरिद गर्ने दिन हो, दैनिक कामधन्दामा समेत निकै खट्नुपर्ने देखिन्छ ।