• २०८३ बैशाख ५ गते शनिवार

पदाधिकारी चयनमा दाहाल असफल

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

फागुन २४, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ । शुक्रबारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहालले शनिबार र आइतबार बैठक स्थागित गरेका थिए ।

तर, नेताहरूका बीचमा भएको आन्तरिक छलफलमा समेत सहमति जुट्न नसकेपछि प्रमुख विषयमा निर्णय नै नगरी बैठक स्थगित भएको छ । अब आगामी २० जेठमा बस्ने केन्द्रीय समिति बैठकबाट यी एजेन्डामा छलफल हुनेछ । पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै एमसीसीलगायतकाका विषयमा २० जेठपछि छलफल हुनेछ । आगामी २० जेठमा यी प्रमुख विषयमा छलफल गरेर निर्णय गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीलगायतका विषयमा आएको फरक मतलाई दर्ज गरेर राख्ने र आगामी बैठकमा पार्टीभित्र छलफल गरिने उनले बताए ।

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन भएको दुई महिना बितिसक्दा समेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने केन्द्रीय समितिको बैठकले गर्न नसकी परधकेल्ने काम भएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ । तर, यसअघिको बैठकबाट अध्यक्षमा दाहाललाई सर्वसम्मत निर्वाचित गरिएको थियो ।

माओवादी स्रोतका अनुसार अध्यक्ष दाहालका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ । नेता वर्षमान पुन र जनार्दन शर्माले भए सर्वसम्मति नभए निर्वाचनबाटै आफंै महासचिव हुने अडान लिएपछि सहमति जुटन नसकेको स्रोतको दाबी छ । महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महारा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू समेत दौडधुपमा थिए । महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि नेताहरूका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । अन्य पदका लागि समेत नेताहरू दौडधुपमै रहेका छन् ।

पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरो समितिमा कसलाई राख्ने विषयमा समेत अध्यक्ष दाहालले सहमति जुटाउन सकेनन् । यी समितिमा पर्न नेताहरूको संख्या बढी भएकाले सहमति जुटाउन दाहाल असफल भएको माओवादी स्रोतको दाबी छ । ‘विभिन्न पदका लागि आकांक्षी नेताहरूको संख्या बढी नै छ । सबैलाई महत्वपूर्ण जिम्मेवारी नै चाहिएको छ । मिलाउँदा मिलाउँदै नमिल्ने अवस्था आएपछि पर धकेल्ने काम भएको छ’ बैठकमा सहभागी एक नेताले भने । बैठकले केन्द्रीय समितिमा ९७ जना सदस्य थप्ने निर्णय गरेको छ । ‘महाधिवेशनले टुंग्याएको विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोयनन र बाँकी ठाउँहरू पूरा गर्नु थियो । त्यो पूरा गरिएको छ’ बैठकपछि नेता पुनले भने ।

पुसमा सम्पन्न आठौं महाधिवेशनको बेलामा २ सय ४७ जनाको केन्द्रीय समिति घोषणा गरिएको थियो । ९७ जना केन्द्रीय सदस्य थपिएपछि अब माओवादीको केन्द्रीय समितिको संख्या ३ सय ३७ पुगेको छ । अझै केन्द्रीय सदस्यको २५ प्रतिशत नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य थप्नेमा गृहकार्य भएको छ । सो विषयमा आगामी बैठकमा छलफल गरेर थप्ने काम हुनेछ । याे समाचार आजकाे राजधानी दैिनकमा रहेकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस